काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधिएकामध्ये झन्डै आधा पक्षले उम्मेदवारले जवाफ दिएका छैनन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा कुल २३ वटा उजुरी परेका छन् । ती मध्ये हालसम्म १२ उम्मेदवारले मात्र जवाफ दिएका छन् । अरूले टेरेका छैनन् । ती को को हुन् भनेर उनले खुलाएनन् । आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दे उनले भने, ‘बाँकी ११ वटा उजुरीका सम्बन्धमा सम्बन्धित व्यक्ति वा संस्थाबाट जवाफ आउने क्रममा रहेका होलान् ।’
उनले आयोगले स्पष्टीकरण सोधेर पनि कारबाही गर्दैन भन्ने गुनासो चिर्न यस पटक काम गरिने बताएका छन् । प्रवक्ता भट्टराइले भने, ‘आयोगले स्पष्टीकरण मात्रै माग्छ तर कारबाही गर्दैन भन्ने कुरा पनि आइरहन्छ ।’
उनले थपे, ‘तर प्राप्त भएका र बाँकी रहेका उजुरीहरूको अध्ययनका लागि एउटा कार्यदल बनाइएको छ । सो कार्यदलको सिफारिसका आधारमा कारबाही गर्नुपर्ने वा नपर्ने विषयमा ठोस निर्णय हुन्छ ।’