बिहिवार, आश्विन १५ गते २०८३

विप्लव माओवादीको घोषणापत्र- प्रत्यक्ष निर्वाचित राष्ट्रपति, अग्राधिकारसहितको संघीयता

आइतवार , माघ १८, २०८२

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संविधानको पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपतिलगायतका एजेण्डासहितको २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी) ले चुनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा प्रतिनिधिसभा र राष्ट्रियसभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा आमूल परिवर्तन गरिने, संघीयता उत्पीडित जाति र क्षेत्रलाई पहिचान र अग्राधिकार सहितको समाजवादी संघीयताको नीति लिइने उल्लेख छ ।

त्यस्तै राज्य र निजी क्षेत्रको साझेदारीमा अगाडि बढ्ने नीति लिइने, उद्योग र व्यापार अर्थतन्त्रलाई नेपालका समृद्धिका आधार बनाइने, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा नागरिकको पहुँच बढाइने सो पार्टीको नीति छ ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लगातार संघर्ष र क्रान्तिपछि जनताले चाहेजस्तो राज्य निर्माण हुन नसकेको बताए । अग्राधिकारसहितको समाजवादी संघीय ढाँचाको राज्य हुनुपर्नेमा जोड दिँदै विप्लवले राज्यले रोजगारीको क्षेत्रमा शून्य प्रयत्न गरेकाले युवामा निराशा देखिएको र वैदेशिक रोजगारीमा धकेल्ने नीति राज्यको देखिएको टिप्पणी गरे ।

कम्युनिष्टहरूसँग अहिले एकता गर्न नसकिने भन्दै मोर्चा बनाएर चुनावमा होमिने प्रस्ताव एमाले, नेकपा लगाएतसँग गरेपनि उनीहरूले अस्वीकार गरेको विप्लवको भनाइ छ ।

नेकपा (माओवादी) को चुनावी प्रतिबद्धता पत्रमा नेपाल राज्यलाई एकीकृत र समृद्ध बनाउन अग्राधिकारसहितको समाजवादी सङ्घीय राज्यमा पुनर्संरचना गर्नुपर्ने, मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग, बुद्धिजीवी वर्गलाई राजनीतिक रूपले अधिकार सम्पन्न गराउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार