बिहिवार, आश्विन १५ गते २०८३

जेनजी आन्दोलनपछि संसद्‌मा प्रधानमन्त्रीको पहिलो सम्बोधन

सोमवार , माघ १९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । उनले केहीबेरदेखि सभालाई सम्बोधन गरिरहेकी हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले यो ठाउँसम्म पुर्‍याएको बताइन् । पहिलोपटक संसद्लाई सम्बोधन गरेको बताउँदै उनले परिस्थितिले बाध्य भएर यो अवसर पाएको बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘जीवनमा यस्तो मौका पनि आयो । परिस्थितिले ल्याएको हो । रहरले पनि होइन । मैले खोजेर गएको पनि होइन । परिस्थितिले बाध्य बनायो । म आएँ ।’

उनले थपिन्, ‘र अहिले यो जुन अवसर मैले यहाँ पाएँ, सायद जीवनमा फेरि पाउन कठिन छ होला । मैले पाउने आशा गरेको पनि छैन् ।’ उनले आज पहिलोपटक यस्तो अनुभव गर्न पाएकोमा खुसी लागेको बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘आज यसलाई जीवनमा एउटा राम्रो अनुभव, यस्तो मोड आएकोमा समयले साथ दिएर आएकाले खुसी लागेको छ । यो हेर्ने अवसर पनि पाएँ, बोल्ने मौका पनि पाएँ ।’

प्रधानमन्त्री कार्कीले सरकार छोडेर चुनावमा गएका पूर्वमन्त्रीलाई दोष नलगाउन आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले नै हात जोडेर जति दिन बस्नुहुन्छ बसिदिनुस् भनेको हुँ, सरकारमा बसीबसी चुनाव लडेको भए बेइमानी गर्‍यो भन्न मिल्छ । दोष लाउनुहुन्छ भने मलाई लगाउनुस्, उनीहरूलाई नलगाउनुस् ।’ त्यतिवेला जेनजीको दबाबका कारण मन्त्री बनाउनु परेको उनले खुलाइन् ।

उनले भनिन्, ‘जेनजीको ठूलो प्रेसर थियो । जेनजीको मान्छे ल्याउन भनेको थियो । त्यतिवेला हामीले मान्नुपर्ने अवस्था थियो ।’ उनीहरू मन्त्री छोडेर चुनावमा गएकाले अन्यथा लिन नहुने प्रधानमन्त्री कार्कीको भनाइ थियो । महावीर पुनको चुनावमा जाने योजना नभए पनि रिसाएर गएको उनले सुनाइन् । राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीले भनिन्, ‘पुन त रिसाएर हिड्नु भएको हो, दुई–चार कानुन बनाउन खोजेको थियो । राम्रै कानुन थियो । तर, अहिलेको अवस्थामा कानून बनाएर सहयोग गर्न सकेनौँ ।’

आफूले ल्याउन चाहेको कानुन बनाउन नसकेका कारण उनी रिसाएर गएको प्रधानमन्त्री कार्कीले बताइन् । मन्त्री छोडेर गएपछि कसैसँग सम्पर्क नभएको उनको भनाइ थियो । उनले भनिन्, ‘गएपछि टेलिफोनमा सम्पर्क पनि छैन् । कुनै माग राखेको पनि छैन् ।’

राष्ट्रिय सभामा बोल्ने सांसदले मन्त्री छोडेर पार्टीमा गएको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री कार्कीले प्रस्टीकरण दिएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार