काठमाडौं । निर्वाचनको सम्मुखमा शीर्ष दलका तीन नेताहरूले अपासमा भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटघाट भएको हो । उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिबारे छलफल भएको बताइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले अहिलेको चुनावमा एमालेले जित्नसक्ने ठाउँमा सहयोग गर्न आग्रह गरिएको बताइएको छ । सो भेटघाटबारे शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले अनभिज्ञता प्रकट गरेका छन् । उनले भने, ‘म काठमाडौं बाहिर छु यो विषयमा मलाई जानकारी छैन, भेटघाट भएको होइन होला म भोली मात्र काठमाडौं आउँछु ।’
एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पनि शीर्ष नेताहरुको भेटघाटबारे आफूलाई जानकारी नभएको बताए । प्रचार विभाग प्रमुख शाहीले भने, ‘यो विषयमा मलाई औपचारिक जानकारी छैन् ।’ एमालेले झापा, दाङ लगायतका क्षेत्रमा सहयोगका अपेक्षा गरेको स्रोतको दाबी छ ।
गगन थापाले विशेष महाधिवेशन गरेर सभापति बनेपछि ओली, देउवा र दाहालको भेट भएको हो । यो विषयलाई उनीहरुले सार्वजनिक गर्न चाहेका छैनन् । दाहालका प्रेस संयोजक गोविन्द आचार्यसँग बुझ्न खोज्ला उनको मोबाइल अफ रहेको छ ।