काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने दाबी गरेका छन्। झापा २ स्थित बिर्तामोडमा पार्टीको भेलालाई सम्बोधन गर्दै फागुन २१ मा निर्वाचन हुने भन्दै त्यसमा लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए।
उनले भने, ‘कुनै अलमलमा पर्नुपर्दैन, संसद् पुनर्स्थापना हुँदैन, फागुन २१ मै निर्वाचन हुन्छ। सर्वोच्च अदालतमा मुद्दा छ, सामान्य मुद्दा हेर्दा नै समय लाग्छ। अब ३२ दिन समय बाँकी छ, छलफल बहस गर्नको लागि अदालतसँग पर्याप्त समय छैन। हामीले यसो अनुमान लगाउँदा पनि फैसला फागुनको २४–२५ तिर आउँछ। जे आउँछ हामीले स्वीकार्नुपर्छ। त्यसैले फागुन २१ मा चुनाव हुन्छ, कसैले आशङ्का नगरौँ। अदालतले जे फैसला गर्छ त्यो मान्नु त छँदै छ।’
उनले पार्टीमा केही समय द्वन्द्व भएपनि विशेष महाधिवेशनपछि पार्टी एकताबद्ध भएर चुनावमा होमिएको जिकिर गरे। उनले विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई सर्वसम्मत चयन गरेको बताए।
उनले भने, ‘अहिले हामी चुनावमा केन्द्रित बनौँ, कुनै विवादमा नलागौं कसैलाई जाँगर चलेको छ भनेर फागुन २१ गते ५ बजेपछि थाल्दा पनि भइहाल्छ, २१ गते थाकिएको छ चुनावमा खटिएर भन्ने लाग्छ भने फागुन २२ गते बिहान ७ बजेदेखि नै छलफल बहस जेजे गर्नुछ गरे हुन्छ। तर फागुन २१ सम्म यो कुरामा जाँदैनौं, एक ढिक्का रहन्छौँ।’