काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा हिमतपातका कारण अत्यधिक चिसो भएमा दोस्रो चरणमा चुनाव गर्न सकिने बताएकी छन् ।
मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादलको दीक्षान्त समारोहलाई सम्बोधनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै हिमाली जिल्लामा चुनाव दोस्रो चरणमा गर्न सकिने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ ।’ उनले सरकारले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव गर्न तयारी गरिरहेको बताइन् ।
त्यसका लागि गाडी चल्ने ठाउँमा मतदाता ओसारेर पनि निर्वाचन गर्नेबारे छलफल भइरहेको उनको भनाइ थियो । प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा गर्न आफू प्रतिबद्ध रहेको उनले बताइन् । अब निर्वाचन सर्ने कुरा नरहेको बताउँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘सर्दै सर्दैन, निर्वाचन तोकिएकै समयमा हुन्छ ।’
निर्वाचनबाट देशले निकास पाउने उनले बताइन् । देशमा स्थायित्व र शान्ति कायम गर्न निर्वाचन कोसेढुंगा सावित हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।