काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ ।
निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति रोक्न आयोगले बुधबार टिकटकसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । आयोगको सचिवालयमा आयोजित कार्यक्रममा सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका प्रतिनिधि फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको उपस्थितिमा भएको यो सम्झौताले निर्वाचनको मौन अवधि र प्रचारप्रसारका क्रममा टिकटकमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।
भ्रामक प्रचार रोक्ने कडा नीति पछिल्ला निर्वाचनहरूमा टिकटक जस्ता प्लेटफर्ममा उम्मेदवारविरुद्ध चरित्र हत्या गर्ने र झुटा दाबी गरिएका भिडियोहरू भाइरल हुने चुनौती थपिएको छ । समझदारी अनुसार, अब टिकटकले निर्वाचन आचारसंहिता विपरीतका सामग्रीलाई प्राथमिकताका साथ हटाउनेछ । आयोगले आफ्ना कर्मचारीलाई टिकटकको ‘कन्टेन्ट मोडरेसन’ सम्बन्धी तालिम दिने र निर्वाचन विशेष सूचना प्रवाहका लागि छुट्टै संयन्त्र बनाउने योजना पनि अघि सारेको छ ।
कार्यवाहक आयुक्त भण्डारीले प्रविधिको दुरुपयोगले मतदाताको निर्णय क्षमतामा असर पार्ने भएकाले यस्ता सहकार्य अनिवार्य भएको बताएका छन् । यसअघि २०७९ को आम निर्वाचनमा पनि आयोगले मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एपको मातृ कम्पनी) सँग सहकार्य गरेको थियो ।
नेपालमा करिब ८० प्रतिशत इन्टरनेट प्रयोगकर्ताले कुनै न कुनै सामाजिक सञ्जाल प्रयोग गर्ने तथ्याङ्क रहेकाले निर्वाचनको स्वच्छता कायम गर्न यी प्लेटफर्म सबैभन्दा चुनौतीपूर्ण मानिँदै आएका छन् ।