काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेको र सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन् ।
शनिबार झापाको भद्रपर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले रास्वपाका पछिल्ला व्यवहारहरू अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने जस्ता देखिएको बताए ।
‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ । त्यसकारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ,’ ओलीको भनाइ छ ।
रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको अनुमान यतिकै गर्न सकिने ओलीको दाबी छ । ‘त्यसर्थ उनीहरू चुनाव भाँड्ने स्थितिमा पुगेको यसै अनुमान गर्न सकिन्छ । यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भने चुनाव लड्न नदिने, खालको प्रवृत्तिमा देखिन्छ । मैले केही दिनयताका घटनाक्रम देख्दा रास्वपाले चुनाव भाँड्न खोजेको, जस्तो देखिन्छ,’ ओलीले भने ।
साथै, उनले चुनाव बलजफ्ती हुने विषष नभएको पनि बताए । मतदाताले निर्भय रुपमा चुनावमा भाग लिने वातावरण तयार हुनुपर्ने ओलीको भनाइ छ ।