आइतवार, श्रावण २४ गते २०८३

आमाले छाडेपछि जिउने साहरा बन्यो निर्जीव खेलौना : संसारलाई भावुक बनाउने पञ्चको मार्मिक कथा

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौँ । जापानको इचिकावा सिटी चिडियाखानामा जन्मिएको मकाक पन्च नामक सानो बादरको कथा यतिबेला सामाजिक सञ्जालमा भावुकताको प्रतीक बनेको छ। जन्मिएकै दिन आमाले छाडेपछि पञ्च एक्लो भयो ।

आमाको न्यानो अँगालो, दूधको स्पर्श र सुरक्षाको अनुभूति नपाउँदै पन्च असहाय अवस्थामा पुग्यो। आमाको कोख कस्तो हुन्छ, माया के हो ? महसुश समेत गर्न पाएन । अन्य बादरहरुले पञ्चलाई जहाँ देख्यो त्यही लखेट्ने, झापड हान्ने गर्न थाले । अन्य बादरले पञ्चलाई लखेट्न थालेपछि चिडियाखानाका कर्मचारीले उसलाई अलग राखेर विशेष स्याहार गरे ।

तर, शारीरिक हेरचाहले मात्र एक्लो पन भरिएन । दिनप्रति दिन पञ्च मानसिक र शारिरिक अवस्थामा निकै कमजोर हुदै गयो । चिडियाखानाका कर्मचारीलाई लाग्थ्यो अब पञ्च बाच्दैन । यहीबीचमा कर्मचारीहरुले पञ्चलाई उसकी आमा जस्तै देखिने खेलौना दिने जुक्ति निकाले । पञ्चलाई सान्त्वनाका लागि एउटा नरम खेलौना दिइयो।

त्यही निर्जीव कपडाको खेलौना अहिले पन्चको सबैभन्दा नजिकको साथी बनेको छ । पन्चले खेलौनालाई छातीमा बेस्सरी कसरेर समात्छ, निदाउँदा पनि नछोडी टाँसिरहन्छ। मानौँ, उसले त्यही निर्जीव वस्तुमा हराएकी आमाको काख खोजिरहेको छ । अन्य बादरले लखेट्दा समेत पञ्च त्यो खेलौनालाई हातमा लिएर भाग्छ ।  यो दृश्यले हजारौँ दर्शकलाई भावुक बनाएको छ ।

चिडियाखानाले पन्चको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ। पञ्चले बादरहरुको समुहमा कसरी बस्ने, कसरी लड्ने त्यो पनि सिकिरहेको छ । अहिले पञ्चको हिम्मत भनौ या साथी, त्यही निर्जिव खेलौना बनेको छ । तर मायाको अभावमा निर्जीव वस्तुसँग टाँसिएको त्यो सानो पञ्चको मौन पीडाले मानव हृदयमा गहिरो प्रश्न छोडेको छ-ममता जति अमूल्य यो संसारमा अरू के हुन सक्छ?

प्रतिक्रिया
सम्बन्धित समाचार