शैली न्युज
दाङ, फागुन १३ गते
नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले जनताको आशा र अपेक्षालाई विश्वासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो जन्मभूमि तुलसीपुर उपमहानगरपालिका–१९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले दाङको समृद्धि र समुन्नत भविष्यका लागि आफूलाई पुनः विजयी गराउन आग्रह गर्नुभयो ।
वडा कमिटीद्वारा आयोजित सभामा बोल्दै पोखरेलले भावुक स्वरमा भन्नुभयो, “तपाईंहरूले आश दिनुहोस्, म त्यसलाई विश्वासमा बदल्नेछु । जनताको मत मेरा लागि पद प्राप्तिको माध्यम होइन, दायित्व पूरा गर्ने अवसर हो ।”
विगतमा आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेको उल्लेख गर्दै पोखरेलले दाङको सडक पूर्वाधार, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो । उहाँले अबको लक्ष्य दाङलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर जिल्लाका रूपमा विकास गर्नु रहेको स्पष्ट पार्नुभयो । “दाङलाई केवल प्रशासनिक केन्द्र होइन, आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो योजना छ”, उहाँले भन्नुभयो । यस क्षेत्रको सिँचाइ सुविधा सुनिश्चित गर्न ग्वार खोला बृहत् जलाशय आयोजना निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिँदै उहाँले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धिमार्फत् स्थानीय अर्थतन्त्र सुदृढ पार्ने योजना सुनाउनुभयो ।