काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानास्थल स्रोतका अनुसार देउवा केहि साथीहरुसहित बुधबार राती सिंगापुर प्रस्थान गरेका हुन् ।
मुलुकमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै गर्दा देउवा पार्टीलाई समेत जानकारी नगराई सिंगापुर उडेपछि नेपालको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । देउवा स्वास्थ्य उपचारको लागि सिंगापुर गएको भनिएको छ । गत भदौ २४ गते जेनजी समूहको आक्रमणबाट श्रीमती आरजुसँगै घाइते भएका देउवा केहि समयअघि पनि सिंगापुरमै स्वास्थ्य उपचार गराएर फर्किएका थिए ।
उनी सिंगापुर गएपनि उपचार कहिले हुने र त्यहाँबाट कहिले फर्कने भन्ने केहि जानकारी आएको छैन । पार्टीमा गगन थापा समूहले कब्जा जमाएपछि बिरक्तिएर बसेका देउवा सिंगापुर उडेपछि पार्टीभित्र विविध टिकाटिप्पणी हुन थालेको छ । नेपाली कांग्रेसले विहिबार नै प्रतिनिधि सभा निर्वाचनका बारेमा जानकारी दिन भनेर पत्रकार सम्मेलन पनि गर्दैछ ।