बुधवार, आश्विन १४ गते २०८३

रङहरुको पर्व होली पहाडमा आज, तराईमा भोलि मनाइँदै

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । रङ, उमंग र आपसी सद्भावको सन्देश बोकेको होली अर्थात् फागु पर्व सोमबार देशका पहाडी तथा हिमाली जिल्लाहरूमा धुमधामका साथ मनाइँदै छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने यस पर्वले नेपाली समाजमा मेलमिलाप, सहिष्णुता र एकताको भावना सुदृढ बनाउने विश्वास गरिन्छ । तराईका जिल्लाहरूमा भने परम्पराअनुसार भोलि  होली मनाइनेछ ।

हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिने फागु पर्व शक्तिको दुरुपयोग गर्ने दुष्ट प्रवृत्तिमाथि सत्य र भक्ति विजयी भएको स्मरणमा मनाइन्छ ।

त्रेतायुगमा दानवराज हिरण्यकश्यपुले आफ्ना छोरा भक्त प्रहृलादलाई मार्न बहिनी होलिकासहित आगोमा पठाएको किंवदन्ती यस पर्वसँग जोडिएको छ ।

भगवान् विष्णुको कृपाले प्रहृलादलाई आगोले केही नगरे पनि अग्निबाट नजल्ने वरदान पाएकी होलिका भने जलेर नष्ट भएको धार्मिक विश्वास छ । यही घटनाको प्रतीकस्वरूप पूर्णिमाको रात चीर दहन गरिन्छ ।

काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबार क्षेत्रअन्तर्गत वसन्तपुर दरबार क्षेत्र अगाडि विधिवत् रूपमा चीर गाडिएसँगै फागु पर्वको औपचारिक सुरुवात भएको मानिन्छ ।

पूर्णिमाको रात उक्त चीर ढालेर दहन गरेपछि पर्व समापन हुने परम्परा छ । त्यस्तै, अष्टमीकै दिन भीमसेन मन्दिरमा राखिएको लिंगलाई टोल(टोल घुमाएर पूजा गर्ने र पुनः मन्दिरको पाटीमा स्थापित गर्ने चलनले उपत्यकाको सांस्कृतिक मौलिकता झल्काउँछ ।

केही वर्षअघिसम्म उपत्यकामा उच्छृंखल ढंगले मनाइने होली पछिल्लो समय भने सभ्य र मर्यादित बन्दै गएको देखिन्छ । प्रहरी प्रशासनको सक्रियता र जनचेतनाका कारण सडकमा हिँड्ने सर्वसाधारणमाथि इच्छाविपरीत रङ र लोला हान्ने प्रवृत्ति उल्लेख्य रूपमा घटेको छ ।

प्रशासनले पनि अमर्यादित तथा अवाञ्छित गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गर्दै सुरक्षित र मर्यादित रूपमा पर्व मनाउन अनुरोध गरेको छ ।

नेपालका विभिन्न जातजाति र समुदायले आफ्नै सांस्कृतिक विशेषतासहित मनाउने फागु पूर्णिमा, देशका साझा पर्वहरूमध्ये एक हो । पहाडी क्षेत्रमा पहिलो दिन र तराई क्षेत्रमा दोस्रो दिन मनाउने चलनले यसको भौगोलिक विविधता झल्काउँछ ।

फागुमा प्रयोग गरिने रङहरूको पनि आ(आफ्नै सांस्कृतिक अर्थ छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय मानिन्छ ।

रातो रङ शक्ति र सौभाग्यको सूचकका रूपमा लिइन्छ भने भगवान् गणेशलाई सबै रङ प्रिय रहेको धार्मिक विश्वास छ । रङको टीका लगाउँदै, पानी छ्याप्दै र शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्वले समाजमा आपसी सद्भाव र एकता प्रगाढ बनाउने अपेक्षा गरिएको छ । 

सरकारले सोमबार पहाडमा र मंगलबार तराईमा सार्वजनिक विदा दिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार