बुधवार, आश्विन १४ गते २०८३

गठन हुनै लाग्यो मन्त्रिपरिषद्, आवासको छैन अझै टुङ्गो

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम आएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेपनि लागेपनि मन्त्रिहरुलाई बस्ने ठाउँको भने अझै टुङ्गो लागेको छैन । 

गत भदौ २४ गते जेनजी समूहको नाममा भएको तोडफोड, लुटपाटबाट र आगजनीबाट ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीको निवासका लागि समस्या देखिएको हो ।

एक वर्षअघि एक अर्ब ३४ करोड रुपियाँको लगानीमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको सो आवास आगजानीबाट पूर्णरुपमा ध्वस्त भएको थियो । 

तत्कालका लागि काठमाडौँमै घर भएका मन्त्री आफ्नै घरमा बस्ने वा भाडामा घर लिएर आवासको व्यवस्थापन गर्ने विषयमा सरकारले छलफल गरिरहेको छ । तर निर्णय भइसकेको छैन ।

सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चव्रmवर्ती कण्ठले भैँसेपाटीस्थित मन्त्री निवास क्षतिग्रस्त भएकाले त्यहाँ तत्काल बस्ने अवस्था नरहेको बताए । 
नयाँ सरकारका मन्त्रीको बसोबासका लागि अन्यत्रै व्यवस्था हुने पनि उनले बताए । सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयले क्षतिग्रस्त भएको छ महिनापछि मन्त्री निवास पुनर्निर्माण प्रव्रिmया सुरु गरेको छ । 

कार्यालयका प्रमुख कण्ठले क्षतिग्रस्त भएका २६ वटा भवनमध्ये बढी क्षति भएका एघार वटा भवनको अध्ययन गरी पुनर्निर्माणका लागि पहिलो चरणमा बोलपत्र आह्वान गरिएको बताए । मन्त्री निवासमा कुल २७ वटा भवन छन् । 

चालु आर्थिक वर्ष (२०८२÷८३) को असार मसान्तसम्म मन्त्रिको आवास भवन पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारको छ । २०७५ मङ्सिर १७ गते बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सुरक्षा गार्ड भवन, हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङसहितको सो आवास क्षेत्र निर्माण गरिएको थियो । 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सङ्घीय मन्त्री निवास निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबिच २०७६ कात्तिक २७ गते सम्झौता भएको थियो ।

करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भएको थियो । कुल ९६ रोपनी १० आनामा फैलिएको यस आवास क्षेत्रमा मन्त्रीहरू २०८२ साउनदेखि मात्रै सर्न सुरु गरेका थिए । 

यसअघि ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासका भवन जीर्ण र साँघुरो भएपछि भैँसेपाटीमा मन्त्रीका लागि आधुनिक आवास निर्माण गरिएको थियो ।

पुल्चोकमा २०२८ सालमा निर्मित १४ वटा र २०५४ मा थपिएका पाँच वटा भवनमा मन्त्री निवास थियो । पुल्चोकका पुराना भवनलाई अहिले न्यायाधीश निवासका रूपमा प्रयोग गरिँदै आएको छ ।


 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार