काठमाडौं । बझाङमा बाटो बनाउने भनेर ठेक्का पारेपनि बाटो नै नबनाई भुक्तानी लिएको पाइएको छ ।
गाउँपालिकाका उच्च कर्मचारीको समेत संलग्नतामा उक्त कार्य भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उक्त जिल्लाको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । गैरकानुनी लाभ वा हानि पु¥याई भ्रष्टाचार गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार भट्ट समेतको मिलेमतोमा बित्थडचिर गाउँपालिका वडा नं. ९ स्थित बागथला धारी डोबा सडक निर्माण कार्यमा आर्थिक अनियमितता गरेको अनुसन्धानबाट देखिएको छ ।
उक्त सडकमा ग्याबिन र मेसिनरी कार्य गर्नुपर्नेमा काम नै नभई भुक्तानी दिएको र यसबाट राज्यकोषमा हानी पुगेको आयोगले दाबी गरेको छ ।
आयोगले भट्टसहित उक्त गाउँपालिकाका लेखापाल रामचन्द्र धामी, गाउँपालिकाका तत्कालीन् इन्जिनियर सन्देश भण्डारी र सव इन्जिनियर किरण भण्डारीलाई पनि प्रतिवादी बनाएको छ ।
त्यस्तै, निर्माण कम्पनी भुमीराज कन्स्ट्रक्सनलाई पनि प्रतिवादी बनाएर जनही ८ लाख ४८ हजार नौ सय ६२ रुपैयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए ।