काठमाडौं। आज हरितालिका तीज पर्व। हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी हर्षल्लासका साथ मनाउदै छन्।आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ।
अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्ष तीजमा कुनै भीडभाड थिएन। यो वर्ष भने सरकारले सामूहिक भेला हुनबाट रोकेको छैन। पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन्।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन्।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन्।
तीजको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।