आइतवार, श्रावण २४ गते २०८३

किसानले अझै पाउन सकेनन् कार्ड, सूचिकरणको काम फेरि सुरु

आइतवार , चैत्र २२, २०८२


काठमाडौँ । चार महिनादेखि रोकिएको किसान सूचीकरणको काम फेरि सुरु भएको छ । गत मङ्सिर अन्तिम सातादेखि रोकिएको सूचीकरण बिहीबारदेखि सुरु भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।

२०७७ सालदेखि किसान सूचीकरण कार्यक्रम सुरु भए पनि २०८० देखि मात्रै नियमित भएको थियो । केन्द्रका सूचना अधिकारी सञ्जीव पण्डितले सफ्टवेयरमा समस्या आएकाले किसान सूचीकरणको काम रोकिएकोमा बिहीबारदेखि नियमित गरिएको जानकारी दिए ।

उनका अनुसार मङ्सिरसम्म दशैभर २३ लाख ८३ हजार किसान सूचीकरण भएका छन् । सूचीकरणको काम सकेपछि कृषक वर्गीकरण गरी कार्ड वितरण गरिने उनले जानकारी दिए । अर्को वर्षसम्म सूचीकरणको काम सकिने केन्द्रको अनुमान छ । अहिले स्थानीय पालिकामा नै सूचीकरणको काम भइरहेको छ । 

केन्द्रका अनुसार अहिलेसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा चार लाख ६४ हजार ६७७ जना किसान सूचीकृत भएका छन् । त्यस्तै मधेश प्रदेशमा चार लाख १२ हजार २४४, बागमती प्रदेशमा तीन लाख ९१ हजार ५९९ जना किसान सूचीकृत भएको केन्द्रले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा दुई लाख ४१ हजार १०४, लुम्बिनी प्रदेशमा चार लाख २४ हजार १६ जना, कर्णाली प्रदेशमा एक लाख ९५ हजार ७१६ किसान सूचीकृत हुँदा सुदूरपश्चिम प्रदेशमा दुई लाख ५३ हजार ६५७ जना किसान सूचीकृत भएको केन्द्रले जनाएको छ । 

सूचीकरणपछि किसानको वर्गीकरण गरी अनुदानसहित सेवा सुविधा उपलब्ध गराउन सरकारले यो कार्यक्रम लागु गरेको हो । सूचीकृत भएका किसानले भने अहिलेसम्म परिचयपत्र पाउन सकेका छेनन् । 

केन्द्रका अनुसार किसानलाई सूचीकरण गरी उनीहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गर्ने सरकारको तयारी छ । सरकारले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठुला किसानका रूपमा पहिचान गरेर वर्गीकरण गर्ने योजना बनाएको छ । 

किसानलाई ऋण, कृषि औजारमा सहुलियत, बिउबिरुवामा छुट तथा पूर्वाधार निर्माणमा समेत सहयोग गरिने छ । कृषि पेसामा किसानलाई टिकाइराख्न परिचयपत्रका आधारमा सुविधा उपलब्ध गराइने छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार