काठमाडौं । लुटपाट र अन्य आपराधिक कार्य नियन्त्रण गर्न नेपाल प्रहरीले काठमाडौं उपत्यकामा ‘स्वीप अप्रेसन’ सञ्चालन गरेपछि गुण्डाहरुको भागाभाग भएको छ ।
शुक्रबार र शनिबार राती सञ्चालन गरेको विशेष अपरेसनमा प्रहरीले सय भन्दा बढी गुण्डाहरुलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीले अपरेसन सुरु गरेपछि केहि गुण्डाहरुले उपत्यका छोडिसकेका छन् । सोही सुचनाको आधारमा प्रहरीले उपत्यकाबाहिर पनि अपरेसन सुरु गर्न लागेको छ ।
यसैबिच प्रहरीले सानुभाई भनिने युवराज गुरुङलाई पनि पक्राउ गरेको छ । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई पक्राउ गरेको नेपाल प्रहरीका एसएसपी रमेश थापाले जानकारी दिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो ।
त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन भन्दै प्रहरीहरुले हतकडीसहित बजार घुमाएका थिए । पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।