काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता छनोट प्रक्रिया ज्वाईँ सुसुराबीचमा एक अर्काको अडानका कारण रोकिएको छ । पार्टीमा वरिष्ठ नेता अर्जनु नरसिंह केसी स्वभविक रुपमा संसदस्य दलका नेताको दाबेदार मानिएका छन् ।
उनी समानुपातिक प्रणालीबाट सांसदमा निर्वाचित भएका हुन् । उनले प्रतिनिधि सभामा सभामुख चयन नहुँदा जेष्ठ सदस्यको हैसियतमा केहि समय सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए । आफूले राष्ट्रपतिबाट शपथ खाएर प्रतिनिधि सभाका अन्य सदस्यलाई शपथ खुवाएका थिए । यस हिसाबले उनी संसदीय दलको नेता आफै हुनुपर्ने पक्षमा छन् ।
उनी पार्टी सभापति गगन थापाका आफ्नै सुसरा हुन् । आफ्नै ससुरालाई संसदीय दलको नेता चयन गरयो भन्ने सम्भावित आरोप खेप्नुपर्ने हुनाले थापाले केसीलाई संसदीय दलको नेता बनाउन चाहिरहेका छैनन् । तर ससुरा केसी भने कुनैपनि हालतमा संसदीय दलको नेता छोड्ने पक्षमा छैनन् ।
दुई जनाको यही अडानका कारण आमनिर्वाचनपछि नयाँ संसदको दोस्रो ठूलो शक्ति बनेको नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता चयनमा बिलम्ब गरेको छ । संसद अधिवेशन सुरु भएर चारवटा वैठक बसिसक्दा पनि कांग्रसले दलको नेता भेटेको छैन ।
रास्वपाको बलियो प्रभूत्व रहेको संसदमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ । ‘प्रमुख प्रतिपक्षी दलको नेता’ संवैधानिक हिसाबले एउटा विशिष्ट पद हो । उसले विशेष सेवा–सुविधा पाउने मात्र नभएर संवैधानिक परिषदको पदेन सदस्य पनि हुन्छ । संसदभित्र पार्टीको अगुवाइ गर्ने भूमिका त छँदैछ । त्यही भएर सभापति गगन थापा आफ्नो विश्वासपात्रलाई दलको नेता बनाउन चाहन्छन् ।