आइतवार, श्रावण २४ गते २०८३

बन्द गर्नुपरेकामा माफी माग्दै पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि शुक्रबार बिहान साढे ५ बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ। एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। शुक्रबार बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उनले सुनाए।

२०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो। विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार