काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सामुहिक राजीनामा दिएसँगै अन्य विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानका पदाधिकारीहरु पनिअलमल्लमा परेका छन् ।
मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारले विहिबार विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका थिए ।
विश्वविद्यालयका उपुकलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदार रिजाल राजीनामासँगै विहिबार विश्वविद्यालयबाट बाहिरीसकेका छन् । उनीहरुले राजीनामा दिइसकेकोले अब आफूहरु पनि राजीनामा दिने कि अध्यादेशलाई नै पर्खने भन्ने बारेमा आफूहरु अलमल्लमा परेको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालले बताए ।
राजीनामा दिनेबारे अन्य पदाधिकारीसँग पनि छलफल जारी रहेको बताउँदै नेपालले सरकारले ल्याउन लागेको अध्यादेशको भावना अनुसार चल्ने बताए । सरकारले आफूहरुलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेको भएपनि सहजै स्वीकार्ने अवस्था रहेको बताउँदै नेपालले भने, ‘राजीनामा ठूलो कुरो होइन । सल्लाह गरेर सामुहिक रुपमै निर्णय गर्छौ ।’
अन्य विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानका पदाधिकारीहरु प्नि यही मुडमा छन् । सरकारले अघिल्ला सरकारको पालामा नियुक्त गरिएको विभिन्न १२ सय नियुक्ति एकै पटक खारेज गर्ने प्रावधानसहितका ६ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ ।