शुक्रवार, आश्विन १६ गते २०८३

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दाउन्नेमा एकतर्फी ढलान सकियो

शनिवार , बैशाख १९, २०८३

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ ।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको छ । एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुने आयोजनाले जनाएको छ । 

ढलानको काम नसकिँदा यो ठाउँमा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो । अब चौध दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताए । 

यससँगै दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्र र ढलानले जोडिएको छ । 

दाउन्नेको पूर्वी खण्डमा पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ । आयोजना सुरु भएको सात वर्ष पूरा हुँदा यस खण्डको यात्रा सहज हुँदै गएको छ । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल करिब रु १७ अर्ब लागत रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार