विराटनगर । नेपाल राष्ट्र बैंकले सातै प्रदेशका प्रहरीलाई ‘सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य र आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी’ सम्बन्धी विशेष अनुशिक्षण तालिम दिन सुरु गरेको छ ।
सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्ने अधिकारीको क्षमता अभिवृद्धि गर्न केन्द्रीय बैंकले नेपाल प्रहरीसँग मिलेर यो कामको सुरूवात गरेको हो ।
खासगरी नेपाल एफएटीएफको खैरोसूचीमा परेपछि यसबाट निस्कने प्रयासमा बल पुर्याउन प्रहरीको क्षमता विस्तार गर्नुपर्नेछ । तालिममा सहभागी प्रशिक्षार्थीले सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण पाउनेछन् ।
वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।
सातै प्रदेशमा यस्तो तालीम दिने अभियानको सुरूवात मंगलबार कोशी प्रदेशबाट भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा।डा। विश्वनाथ पौडेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा तालीम सुरू भएको हो ।
५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागीता छ ।
यो तालिम कोशी प्रदेशबाट सुरु भए पनि मुलुकका सातै प्रदेशमा सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशमा ३० जना प्रहरी अधिकृतहरूलाई तालिम दिइने लक्ष्य राखिएको छ ।