विराटनगर । सातामा दुई दिने बिदा दिने हालको व्यवस्था राख्ने कि हटाउने भन्ने विषयमा कोशी प्रदेश सरकारले सुझाव मागेको छ ।
दुई दिने बिदाको अभयास अव्यवहारिक भएको जन गुनासो बढ्न थालेपछि प्रदेश सरकारले नागरिकसँग सुझाव मागेको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसका लागि सुझाव मागेका हुन् । २ दिने बिदाले खर्च तथा इन्धन खासै उपलब्धि नदेखिएको उनको निचोड छ ।
कार्कीले लेखेका छन्, – कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साबिक झैँ बिदा शनिबार १ दिन मात्रै) कायम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ !
केन्द्र सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयबाट सातामा २ दिन सार्वजनिक बिदा दिने र कार्यालय समय ९–५ बनाउने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको
असहजतालाई मुख्य कारण देखाउँदै यस्तो निर्णय लिएको सरकारको भनाइ छ ।
तर, २ दिन बिदाले सेवाग्राही र अस्पतालमा ओपीडी बिरामीलाई मार परेको, शिक्षण संस्थासमेत बिदा हुँदा विद्यालयमा कोर्स सक्ने दबाबदेखि विद्यार्थी र अभिभावकसमेतलाई समय व्यवस्थापन गर्न अव्यवहारिक भएको भन्दै आलोचना बढिरहेको छ ।