आइतवार, श्रावण २४ गते २०८३

विश्वकप २०२६ः महाकुम्भको अन्तिम तयारी पूरा, उत्तर अमेरिका फुटबलमय

बुधवार , जेठ २७, २०८३

काठमाडौँ । फुटबल जगतकै सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित प्रतियोगिता ’फिफा विश्वकप २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। उत्तर अमेरिकी महाद्वीपका तीन शक्ति राष्ट्रहरू— अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यस विश्वकपका लागि स्टेडियम, सुरक्षा, यातायात र खेल तालिका सम्बन्धी सम्पूर्ण व्यवस्थापन चुस्त बनाइएको फिफा र स्थानीय आयोजक कमिटीले जनाएका छन्।

भोलि (जुन ११, २०२६) देखि मेक्सिकोको ऐतिहासिक ’इस्टाडियो एस्टेका’ स्टेडियममा उद्घाटन खेलसँगै यो प्रतियोगिता औपचारिक रूपमा सुरु हुँदैछ। यो इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो ।जसमा ४८ टोली र १०४ खेल हुँदैछ ।यस पटकको विश्वकप विगतका संस्करणहरू भन्दा बिल्कुलै फरक र विशाल हुनेछ। फिफाले टोली संख्या ३२ बाट बढाएर ४८ पु¥याएपछि यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो बनेको हो।जसमा कुल  १०४ खेलहरू हुनेछ र खेल जुन ३९ दिनसम्म चल्नेछ।

अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कुल १६ वटा सहरमा खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताका अधिकांश खेलहरू अमेरिकामा हुनेछन् भने क्यानडा र मेक्सिकोले १३–१३ खेलहरू आयोजना गर्नेछन्। न्युयोर्कको प्रतिष्ठित ’मेटलाइफ स्टेडियम’ मा फाइनल खेल हुने तय भएको छ।

आयोजक सहरहरूले फ्यानहरूलाई स्वागत गर्न सडक, सार्वजनिक यातायात र खेल मैदानहरूलाई आकर्षक रूपमा सजाएका छन्। क्यानडाको भ्यानकुभर र टोरन्टोमा आधिकारिक फिफा मर्चन्डाइज स्टोरहरू र फुटबल थिमका कलाकृतिहरू स्थापना गरिएका छन्। सबै १६ वटा रङ्गशालाहरूलाई अत्याधुनिक प्रविधि, उच्च गतिको इन्टरनेट र फ्यानमैत्री प्रविधिले सुसज्जित बनाइएको छ। लाखौँको सङ्ख्यामा आउने दर्शकहरूलाई मध्यनजर गर्दै यातायातका साधन र मेट्रो सेवाको समय थप गरिएको छ।

यो विश्वकपमा झण्डै एक करोड दर्शक र खेल प्रेमीहरू रंगशाला पुग्ने अनुमान गरिएको छ। सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै अमेरिकी सुरक्षा एजेन्सीहरूले कडा सुरक्षा रणनीति अपनाएका छन्। यस पटक अनधिकृत ड्रोनहरूको जोखिमलाई रोक्न अत्याधुनिक ’काउन्टर–ड्रोन’ प्रविधिको प्रयोग गरिने भएको छ। सुरक्षाका लागि विभिन्न संघीय, राज्य र स्थानीय सुरक्षा निकायहरू एकीकृत रूपमा परिचालन भएका छन्।

यस विशाल प्रतियोगिताको पूर्वसन्ध्यामा विभिन्न नागरिक समाज र मानव अधिकारवादी संस्थाहरूले दर्शक तथा सञ्चारकर्मीहरूका लागि ’ट्राभल एड्भाइजरी’ समेत जारी गरेका छन्। अमेरिकामा कडा अध्यागमन कानुन र सुरक्षा जाँचका कारण आउन सक्ने झन्झट र रङ्गभेद विरुद्ध सचेत रहन फ्यानहरूलाई आग्रह गरिएको छ। फिफा र आयोजक सहरहरूले रंगशालाभित्र र बाहिर सबै फ्यानहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता दोहो¥याएका छन्।

विश्वकपको समूह विभाजन सार्वजनिक भइसकेको छ, जहाँ ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, इङ्गल्याण्ड जस्ता ठूला टोलीहरूसँगै पहिलो पटक छानिएका नयाँ राष्ट्रहरूले पनि आफ्नो जादु देखाउनेछन्। विश्वभरका करोडौँ फुटबल प्रशंसकहरू आफ्ना मनपर्ने खेलाडीहरूलाई मैदानमा हेर्न आतुर छन्। आयोजक राष्ट्रहरूका सडकमा अहिलेदेखि नै उत्सवको माहोल देखिन थालेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार