आइतवार, श्रावण २४ गते २०८३

विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै, कुुन कुुन देशमा हुुँदै छ ?

बिहिवार , जेठ २८, २०८३


काठमाडौं । विश्वकै  लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन गर्नमा व्यस्त हुने छन् । नेपाल यसबाट अछुतो हुने कुरै भएन ।

नेपाल पनि अहिले विश्वकपमय भइसकेको छ । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै छ । यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ । त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकोका १८ भव्य रङ्गशालामा रहने छ ।

विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ । विश्वकप २०२२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए । विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ । त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरेक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन् । 

जुन ११ मा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल हुने छ । ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ । त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुने छ ।

फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन् । यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ । विश्वकपमा कुल १०४ खेल हुन्छन् । अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छ । जसमध्ये क्वाटरफाइनल,  सेमिफाइनल र फाइनल पनि छन् ।

यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एट्लान्टा, डालास, हस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपको प्रतिस्पर्धा हुने छ । यसै गरी मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टरेरी र गुवाडालाजारामा कुल १३ खेल खेलिने छ ।

क्यानडाको भागमा पनि १३ खेल परेका छन् । ती खेल टोरन्टो र भानकुभर सहरमा हुने छन् । मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ । मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिताको आयोजना गरेको हो । क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ ।

हुन त विश्वकप फुटबल जस्तो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । तर  विश्वकप मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि गत विजेता अर्जेन्टिना, बेलायतलाई पनि विश्वकप जित्ने टिमका रूपमा आँकिएको छ । जर्मनी, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्सलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन ।  

प्रतिक्रिया
सम्बन्धित समाचार