आइतवार, श्रावण २४ गते २०८३

अवैध रूपमा ओमान उड्न लागेका २७ महिला एयरपोर्टबाट नियन्त्रणमा

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । भिजिट भिसाका नाममा खाडी मुलुकतर्फ जान लागेका २७ महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

बुधवार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका १२ र १५ गरी २७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

२२ देखि २९ वर्ष उमेरसम्मका ती महिला ‘भिजिट भिसा’, अर्थात् पर्यटकका रूपमा विदेश जान लागेको कुरामा शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले आवश्यक अनुसन्धान जारी रहेको बताए ।

उनीहरुसँग ओमनको भिसा, टिकट र होटल डकुमेण्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो ।

अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान गरेको हो । त्यसक्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिसा देखिँदा उनीहरु अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार