काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच शुक्रबार स्विट्जरल्याण्डमा हुने भनिएको पहिलो चरणको ऐतिहासिक शान्ति वार्ता स्थगित भएको छ ।
लेबनानमा इजरायलले गरेको तीव्र आक्रमण र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्नो स्विट्जरल्याण्ड भ्रमण रद्द गरेपछि युद्ध अन्त्य गर्ने प्रयासमा अन्योल छाएको हो ।
फेब्रुअरीको अन्त्यमा सुरु भएको द्वन्द्वलाई स्थायी रूपमा टुङ्ग्याउन दुई देशबीच केही दिनअघि मात्र एउटा अन्तरिम सम्झौता भएको थियो । सोही सम्झौताको जगमा ६० दिनको वार्ता प्रक्रिया सुरु गर्न शुक्रबार स्विट्जरल्याण्डको बुर्गेनस्टक रिसोर्टमा बैठक तय गरिएको थियो ।स्विट्जरल्याण्डको विदेश मन्त्रालयले अमेरिका, इरान, कतार र पाकिस्तानबीचको प्रस्तावित वार्ता शुक्रबार नहुने पुष्टि गरेको छ ।
लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।इजरायली सेनाले सो भिडन्तमा आफ्ना चार सैनिक पनि मारिएको जनाएको छ । लेबनानमा इजरायली सैन्य कारबाही जारी रहेमा आफूहरूले शान्ति सम्झौता पालना नगर्ने चेतावनी इरानले दिएको छ ।
इजरायललाई यस शान्ति प्रक्रियामा सहभागी गराइएको छैन । लेबनानमा इजरायली आक्रमणको तीव्रताले भर्खरै सुरु भएको कूटनीतिक प्रयासलाई थप जोखिममा पारेको छ ।