आइतवार, श्रावण २४ गते २०८३

एक लाख ५६ हजार हेक्टरमा धान रोपाइँ,आधा असार सकिदा अधिकांश खेत अझै बाँझै

सोमवार , आषाढ १५, २०८३

काठमाडौं। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै गर्दा देशभर धान रोपाइँ अपेक्षाकृत न्यून भएको छ। पर्याप्त वर्षा नहुँदा आधा असार सकिन लाग्दासमेत रोपाइँ सुस्त देखिएको हो।

कृषि विभागका अनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत अर्थात् १ लाख ५६ हजार ५ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा १५.६० प्रतिशत रोपाइँ भएको थियो। देशभर धान रोपाइँ हुने कुल १३ लाख ८१ हजार ४ सय ८८ हेक्टर क्षेत्रफलमध्ये अधिकांश जमिन अझै बाँझै रहेको विभागले जनाएको छ।

प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८० प्रतिशत अर्थात् ९ हजार ८ सय ७५ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ। त्यसपछि लुम्बिनी प्रदेशमा २०.९० प्रतिशत अर्थात् ६२ हजार ६ सय ७१ हेक्टर र गण्डकी प्रदेशमा १२.७० प्रतिशत अर्थात् ११ हजार ८ सय ४६ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

यस्तै बागमती प्रदेशमा १२.६० प्रतिशत अर्थात् १४ हजार ४ सय २० हेक्टर, सुदूरपश्चिम प्रदेशमा ९.३० प्रतिशत अर्थात् १५ हजार ८ सय हेक्टर तथा कोशी प्रदेशमा ८.३० प्रतिशत अर्थात् २२ हजार ८ सय १५ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ। मधेश प्रदेशमा सबैभन्दा कम ५.०० प्रतिशत अर्थात् १९ हजार १ सय ५८ हेक्टर क्षेत्रमा मात्र रोपाइँ भएको विभागको तथ्यांक छ।

कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी तिलकराज चौलागाईंले पर्याप्त वर्षा नपरेकाले धान रोपाइँ प्रभावित भएको बताए। उनका अनुसार पहाडी क्षेत्रमा रोपाइँ छिटो हुने भए पनि तराईमा वर्षामा निर्भर रहने भएकाले रोपाइँ ढिलो हुने गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार