आइतवार, श्रावण २४ गते २०८३

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ

बुधवार , आषाढ २४, २०८३

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। 

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने तथा निजी अस्पतालमा सहज उपचार गराइदिने भन्दै प्रलोभनमा पारेर आर्थिक चलखेल गर्ने गिरोह सक्रिय रहेको भन्ने जनगुनासोपछि प्रहरीले विशेष निगरानी बढाइ उनीहरूलाई पक्राउ गरिएको बताए।

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि त्यस्ता गतिविधिमा संलग्न रहेको अवस्थामा प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सर्लाही अर्नीसाइर कृष्णासवरण गाउँपालिका–३ निवासी ३७ वर्षीय रञ्जित कुमार चौधरी, सर्लाही राजविराज नगरपालिका–६ निवासी २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ निवासी ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ निवासी २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ निवासी २९ वर्षीय सानिम किराती रहेका छन् । 

त्यस्तै, धरान–६ निवासी २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ निवासी ४० वर्षीय उमेश कुमार चौधरी, धरान–१७ निवासी ३५ वर्षीय धिरोज निरौला, इटहरी–२ निवासी ३२ वर्षीय रोहित मेहता, धरान–११ निवासी १८ वर्षीय विनोद भण्डारी रहेको प्रहरी निरीक्षक राईले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार