काठमाडौं । मनसुन सक्रिय हुँदा देशका विभिन्न भूभागमा वर्षाको गतिविधि बढेको छ । वर्षासँगै खोलानदीमा पानीको बहाव उल्लेख्य छ । आइतबार पनि केही जिल्ला भई बहने खोलानदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही साना नदीमा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान छ ।
पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट भई बहाने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
यी जिल्लामा महाशाखाले आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरेको छ । कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, राप्तीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
“आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ,” महाशाखाले भनेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । “हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक रहेको छ,” मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।