काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। समितीका अनुसार असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको छ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे रहेको छ। पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए। असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ। असोज २६ गते मङ्गलबार फूलपाती परेको छ।
फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए। फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ।
मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ। तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ। तुलजा भवानीलाई बिहान ८:४४ बजे स्थिरासन गराइन्छ।
असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ। असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ। घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिनेपनि समितीले जनाएको छ।