काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले सुनसरी जिल्लाका विभिन्न स्थानमा हालै भएका साम्प्रदायिक तनाव र झडपप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सोमबार निर्मल निवासस्थित संवाद सचिवालयमार्फत एक ‘सद्भाव सन्देश’ जारी गर्दै उनले नेपालीहरूबीचको ऐतिहासिक एकता र सामाजिक सद्भावलाई बिथोल्ने काम नगर्न सबैमा आग्रह गरेका छन्
सन्देशमा पूर्वराजाले नेपाल निर्माणको सुरुवाती समयदेखि नै विभिन्न जातजाति, भाषाभाषी र धर्मका मानिसहरू मिलेर बस्दै आएको स्मरण गराए । ‘हाम्रो समाज बहुजातीय र बहुभाषिक छ । हरेकका आफ्ना धर्म, संस्कृति र रीतिथिति छन्,’ सन्देशमा भनिएको छ, ‘यही विशिष्ट धार्मिक, सांस्कृतिक एवं सामाजिक गुणका कारण विश्वमा हाम्रो सम्मान रहेको छ । यो गरिमालाई हामीले गुम्न दिनु हुँदैन।’
केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा देखिएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका अन्य भू(भागमा समेत फैलिएर जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उनले उल्लेख गरेका छन् ।
नेपालजस्तो शान्त र सामञ्जस्यपूर्ण देशमा यस्ता अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताको विषय भएको भन्दै पूर्वराजाले यसलाई नेपालको मौलिक मूल्य र मान्यता विपरीतको कार्य ठहर्याएका छन्।
सन्देशको अन्त्यमा उनले भनेका छन्, ‘जुनसुकै भू(भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ । हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो ।’