काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरुले सजगता अपनाउन आग्रह गरेका छन् ।
बुधबार बिहान करिब ९ बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।
भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्छ । अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठूलो बहाव सिर्जना गरेको हुन सक्छ, जसले पानी, गेग्रान र ठूला ढुङ्गाहरूलाई तल्लो तटतर्फ बगाएको थियो ।
जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ । गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमा नौ मिटरसम्म बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरले बढेको बताइएको छ ।
त्रिशूली नदीको किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढीका क्रममा क्षतिग्रस्त वा बगाएको बताइएको छ । यद्यपि, गल्छीको पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ ।
विशेषज्ञले गेग्रानले नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनेर पहिरो बाँध ९ल्यान्डस्लाइड ड्याम० बनाएको थियो कि थिएन भन्ने विषयमा पनि मूल्याङ्कन गरिरहेका छन् । यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्किएमा दोस्रो चरणको जोखिम उत्पन्न हुन सक्छ । सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।
विपद्को समयमा ‘रेकर्ड’ गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणले असामान्य सङ्केत पहिचान गरेको छ । प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो भने झाङ्मुस्थित अर्को केन्द्रले पनि असमान्य गतिविधि रेकर्ड गरेको थियो ।
वैज्ञानिकहरूले ती सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन गरिरहेका छन् । हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै कारणात्मक सम्बन्ध स्थापित भएको छैन ।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट ध्वस्त भएको यही क्षेत्र फेरि एकपटक जोखिममा परेको बताउँदै ल्हेन्दे खोलामा आएको बाढीको सम्भावित कारण हिमपहिरो भएको उल्लेख गर्नुभयो ।