रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा बेपत्ता भएकामध्ये १२३ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने नेपाली नागरिकलाई धुन्चे ल्याउने तयारी गरिएको सेनाले जनाएको छ।
त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको पनि जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा फसेकाहरूको उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यसैबीच, टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरिएको छ। उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको सेनाले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ।