काठमाडौं। स्थानीय तहको निर्वाचन भएको चार वर्ष बितिसकेको छ। २ असोज २०७४ मा भएको निर्वाचनमा जितेर आएका जनप्रतिनिधिको पद सकिन अब १ वर्ष मात्रै बाँकी छ। तर ४ वर्ष अगाडी भएको चुनावको फेर मतगणना हुने भएको छ। महोत्तरीको एक वडामा मतगणनाका लागी मिति समेत तय भैसकेको छ।
उच्च अदालत जनकपुरले महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को फेरी मतगणना गर्न आदेश दिएको हो। न्यायाधीशहरु हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको इजलासले फेरी मतगणनाको आदेश दिएको हो। अदालतको आदेश अनुसार ७ कात्तिकमा बिहान ११ बजेदेखि मतगणना हुनेछ।
मुद्दाका पक्षहरु र सम्बन्धित निर्वाचन अधिकृत र निर्वाचन कार्यालय समेतलाई मतगणनाको मिति र समयको जानकारी दिई फेरी मतगणना गर्न उच्च अदालतले आदेश दिएको हो। दोहोर्याएर मतगणना गरी पाउँ भन्दै वडा अध्यक्षका उम्मेदवार रमेश रायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए।
उच्च अदालतले २१ असार २०७५ मा फेरी मतगणना गर्ने आदेश दिएको थियो। निर्वाचित भएका अरुणकुमार चौधरीले आदेश विरुद्ध सर्वाेच्च अदालतमा निवेदन दिएका थिए। सर्वाेच्चले ६ चैत २०७७ मा उच्च अदालतको आदेश सदर गरेको हो।
सो आदेश कार्यान्वयनका लागि उच्च अदालतले फेरी मतगणनाको मिति तोकिदिएको हो। मतगणनाको नतिजा विरुद्ध मुद्दा दायर गरेका राय स्वतन्त्र उम्मेदवार थिए। राय र नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरीले समान ६७ मत पाएका थिए।
दुवैको मत बराबर भएपछि गोलाप्रथा गर्दा चौधरी वडाध्यक्षमा निर्वाचित भएका थिए। रायले भने चौधरीलाई ६४ मत मात्रै आएको तर निर्वाचनमा खटिएका कर्मचारीले बदर हुनुपर्ने ३ वटा मत मिलाइदिएर ६७ पुर्याइदिएको दाबी गर्दै मुद्दा दायर गरेका थिए।