पोखरा । पोखरानजिकै रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा ९र्याफ्टिङ०मा पर्यटकको आकर्षण बन्दै गएको छ ।
पोखराबाट नजिकै भएकाले छोटो समयमै साहसिक मनोरञ्जन लिन सकिने सेती नदी पर्यटकको रोजाइमा पर्ने गरेको नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) पोखराका अध्यक्ष वीरेन्द्र लामाले बताए ।
तीन घण्टाभित्रै जलयात्रा पूरा गर्न सकिने भएकाले छोटो समयका लागि पोखरा आउने पर्यटकको पहिलो रोजाइमा सेती नदी पर्ने गरेको उनको भनाइ छ । अहिले पोखराको सेती नदीमा दैनिक ३० देखि एक सय जनासम्मले जलयात्रा गर्ने गरेका छन् ।
अपर सेती नदीमा वर्षमा पाँच महिनासम्म र्याफ्टिङ गर्न सकिन्छ । पानीको बहाव ग्रेड चारभन्दा माथिको हुने भएकाले अपर सेती र्याफ्टिङका लागि उत्कृष्ट नदीमध्ये एक रहेको लामाको दाबी छ ।
पछिल्लो समय जलविद्युत् आयोजना निर्माण हुन थालेपछि कतिपय नदीमा अपेक्षाअनुसार जलयात्रा सञ्चालन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।
सेती र मर्दी नदीको दोभानदेखि करिब आठ किलोमिटर दूरीमा रहेको याम्दीसम्म र्याफ्टिङ गराइन्छ । र्याफ्टिङका लागि विदेशी पर्यटकले ६ हजार रुपैयाँ र नेपालीले तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने लामाले बताए ।
नेपालमा सेती, कालीगण्डकी, मर्स्याङ्दी, त्रिशूली, तमोर, सुनकोसी र कर्णालीलगायत नदीमा सरकारले जलयात्रा सञ्चालन गर्न अनुमति दिएको छ ।
नेपाल आउने पर्यटकमध्ये २५ प्रतिशतले र्याफ्टिङ गर्ने गरे पनि पछिल्ला वर्षहरूमा यो संख्या घट्दै गएको लामाले बताए ।
पोखरामा मात्रै ११ वटा र्याफ्टिङ कम्पनी सञ्चालनमा छन् । देशभर करिब एक सय व्यवसायी यस क्षेत्रमा सक्रिय छन् ।