काठमाडौं । दसैंको टीकापछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। खुलेको मौसम, सडकमा गुडिरहेका सवारीसाधन र पृष्ठभूमिमा देखिने हिमशृङ्खलाले उपत्यकामा सुन्दरता थपेका छन्।
दसैंअघि मौसम प्रतिकूल रहे पनि यसपटक चाडपर्वकै बेला मौसम खुलेको थियो। घटस्थापनादेखि विजया दशमीसम्म आकाश सफा रह्यो। बुधबार दशमीका दिनदेखि सुरु भएको टीका लगाउने क्रम बिहीबार एकादशीमा पनि जारी छ। ठाउँअनुसार कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद लिने प्रचलन छ।
दसैं मनाउन उपत्यकाबाट धेरै मानिस बाहिरिएपछि केही दिन सडक र बस्ती सुनसान बनेका थिए। तर, टीका सुरु भएसँगै आफन्तकहाँ आउजाउ गर्ने, घुमफिरमा निस्कने र गाउँबाट राजधानी फर्किनेहरूको चहलपहल बढ्न थालेको छ। कतिपय सर्वसाधारण नियमित काममा फर्किन थालेका छन्।