सोमवार, आश्विन १२ गते २०८३

मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग बन्दै त्रिभुवन राजपथ

सोमवार , आश्विन १२, २०८३

हेटौंडा ।अविरल वर्षाका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक अवरुद्ध भएपछि राजधानी आवतजावतका लागि त्रिभुवन राजपथ फेरि प्रमुख वैकल्पिक मार्ग बनेको छ ।


पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सवारी आवागमनका लागि नयाँ समयतालिका लागू गरेको छ । हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा आउने सवारीलाई छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार साँघुरो सडकमा एकैपटक ठूलो सङ्ख्यामा सवारी प्रवेश गर्दा हुनसक्ने जोखिम र जाम कम गर्न समय निर्धारण गरिएको हो । उनले सडकको अवस्था बुझेर प्रशासनले जारी गरेको तालिकाअनुसार मात्र यात्रा गर्न चालक, व्यवसायी र यात्रुलाई आग्रह गरिएको बताए ।

इन्धन तथा खाना पकाउने एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई अर्को व्यवस्था नभएसम्म त्रिभुवन राजपथ प्रयोग गर्न रोक लगाइएको प्रजिअ अधिकारीले बताए । उनका अनुसार यात्रुवाहक सवारीतर्फ ११ मिटर लम्बाइसम्मका सवारीलाई मात्रै सञ्चालन गर्न दिइएको छ ।

काठमाडौं जोड्ने अन्य सडक प्रभावित हुँदा त्रिभुवन राजपथमा यसअघि पनि सवारीको चाप बढ्ने गरेको थियो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग प्रभावित हुँदा यही सडक लामो समय वैकल्पिक मार्ग बनेको थियो ।


सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार