असोज २८, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा आयोजित ‘विश्वविद्यालय अनुदान आयोग र नेपालको उच्च शिक्षा’ विषयक राष्ट्रिय शिक्षा कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यशालामा नेपालको उच्च शिक्षा, विश्वविद्यालय अनुदान आयोगको र विश्वविद्यालयको भूमिका आदि विषयमा व्यापक बहस्, कार्यपत्र प्रस्तुत, छलफल तथा प्यानल डिस्कशन गरिएको थियो ।
उक्त कार्यशालामा विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष भीम प्रसाद सुवेदी, विश्वविद्यालय अनुदान आयोगका सचिव डा. रोजी श्रेष्ठ, विश्वविद्यालय अनुदान आयोग भारतका पूर्व सचिव प्रा.डा. मनिष जोशी मध्य पश्चिम विवि का उपकुलपति सह प्रा. राजन सुवाल, शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिल कुमार जोशी, पूर्व उपकुलपतिहरु प्रा.डा. तीर्थ खनिया, प्रा.डा. उपेन्द्र कोइराला, प्रा.डा. अम्माराज जोशी, प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा विजुकुमार थपलिया लगायतका प्राज्ञिक व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो ।
साथै विभिन्न विश्वविद्यालयका रजिष्ट्रार, डिन, विभागीय प्रमुख, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, शिक्षाविद् एवं प्राध्यापकहरूको विशेष सहभागिता रहेको थियो ।
कार्यशालामा प्रा.डा. विजु कुमार थपलियाको कार्यपत्र रहेको थियो भने प्रा.डा. पुष्करमान बज्राचार्य र प्रा.डा. वेदराज आचार्यले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।
त्यसैगरी विभिन्न विश्वविद्यालयका रजिस्ट्रार, डिन, विभागीय प्रमुख, क्याम्पस प्रमुख, शिक्षाविद् तथा प्राध्यापकहरूको समेत उच्च शिक्षाको वर्तमान अवस्था, विश्वविद्यालय अनुदान आयोगको भूमिका र विश्वविद्यालयहरूको शैक्षिक उत्तरदायित्व लगायत विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले नेपालको शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार तथा उच्च शिक्षासम्बन्धी नीतिगत विषयमा बहस र विमर्शलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।