काठमाडौं। धनुषाको एक नगरपालिकामा भैँसी जुलुस निकालिएको छ। जिल्लाको सबैला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुविरुद्ध भैंसी जुलुस निकालिएको हो। भ्रष्टाचार भएको आशंकामा माग गरिएको सूचना उपलब्ध नगराएपछि भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीको अनसनको समर्थनमा नगरबासीले आज बिहान भैंसी जुलुस निकालेका हुन्।
जुलुसमा सहभागी गराइएका भैंसीहरूको घाँटीमा मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत उल्लेखित प्लेकार्ड झुण्ड्याइएको थियो। भैंसी जुलस निकालेका नगरबासीले मेयर विजयशंकर साह, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर र लेखा अधिकृत शिवकुमार झाविरुद्ध नाराबाजी समेत गरेका थिए।
भ्रष्टाचार लुकाउन सूचना नदिएको भन्दै संघर्ष समितिका संयोजक सुरेश यादवको नेतृत्वमा विगत १४ दिनदेखि नगरपालिकाको कार्यालयमा रिले अनसन पनि जारी छ। यादभका अनुसार चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, गत वर्ष संसद विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, कोभिड-१९ रोकथाम तथा क्वारेन्टाइन सञ्चालन खर्चलगायतका शीर्षकमा भएको खर्चको सूचना माग गरिएको छ।