काठमाडौं । सप्तरीमा ‘अज्ञात रोग’ले एक जनाको मृत्यु भएको छ । अन्य २५ जना भन्दा बढी बिरामी परेका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
अज्ञात रोगका कारण जिल्लाको महदेवा गाउँपालिका-२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो । विरामीमा टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएको जनाइएको छ ।
बिहीबार साँझ साढे ७ बजे टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकी उनको राति साढे ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए ।
फुड प्वाइजनिङ भइ पखाला लागेको हुनसक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको डा. झाले बताए ।
सोही लक्षणबाट मृत्यु भएकी रजककै परिवारका तीन जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि धरान रिफर गरिएको छ ।
यस्तै, महदेवा गाउँपालिका–२ चकलाटोलसँगै जोडिएको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ जना बिरामी छन् ।
तिलाठी कोईलाडी - ८ का विभिन्न परिवारका सदस्यहरुलाई टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय सत्यनारायण यादवले बताए ।
तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ८ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ ।
अन्यको बिरामीहरुको भने स्थानीय मेडिकल र घरमै स्लाइन पानी लगाइ उपचार भइरहेको जनाइएको छ ।