काठमाडौं। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताएका छन्।
तर हाल आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको आरोप लगाएका छन्। प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताए। हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि उनले आपत्तिजनक बताए।
आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताए। उनले मुख्यमन्त्री कार्यालयबाट साइकल वितरणमा अनियमितता भएको भन्ने हल्लामा सत्यता नरहेको पनि बताए।