काठमाडौं। विश्व बैंकले नेपालको यस वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। हालैमात्र जारी भएको विश्व बैंकको रिपोर्ट अनुसार कोभिडपछि यो वर्ष समग्रमा दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदरमा सुधार आउने बताएपनि नेपालको भने ४ प्रतिशत तलै रहने प्रक्षपण गरिएको छ।
सरकारले भने यस वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर भने औषतमा ७.१ प्रतिशत रहने बैंकले जनाएको छ। बैंकका अनुसार यस वर्ष दक्षिण एसियामा नै सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशतले आर्थिक वृद्धि रहने छ।
यस्तै, भारतको ७.५ प्रतिशत, बंगलादेशको ६.४ प्रतिशत र सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत रहने बैंकले प्रक्षेपण गरेको छ । यता भुटान र पाकिस्तानको आर्थिक वृद्धिदर भने सरदर नेपालको जस्तै हुने बैंकले जनाएको छ।