काठमाडौं। दसैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बरले बढेको छ। यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा एक हजार दुई सय रूपैयाँमा बिक्री भैरहेको व्यापारीहरुले बताएका छन्। आजबाट अझै एक सय रूपैयाँ बढ्न सक्ने व्यापारी बताउँछन्।
यो मूल्य गत वर्षकोभन्दा दोब्बर हो। यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो सात सय पचासदेखि आठ सय रूपैयाँसम्ममा बिक्री गरेका थिए। यस वर्ष सुरूको मूल्य नै एक हजार दुई राखेका छन्।
सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ। सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि आज बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ।
जिल्लाका मात्रै नभई काठमाडौंं र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा एक हजार दुई सय रूपैयाँमा बिक्री गरेका छन्। व्यापारीहरुले च्याङ्ग्रा गाँउमै महंगो परेकाले आफुहरुले पनि बढी मुल्यमा बेच्नु परेको बताएका छन्।