आइतवार, श्रावण २४ गते २०८३

नवरात्रको अन्तिम दिन अर्थात महानवमी पर्व, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

बिहिवार , आश्विन २८, २०७८

काठमाडौं। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी आज चढाउने प्रचन छ। 

दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। 
पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। 

दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ। सिद्धिदात्रीको उपासनाले भक्तजनले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार