मंगलवार, आश्विन १३ गते २०८३

सुदुरपश्चिममा बाढीपहिरोको वितण्डा, बझाङमा बाढीले बसपार्क बगायो, सञ्चार, विधुत र सडक अवरुद्ध

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं। लगातारको वर्षाले सुदुरपश्चिममा वितण्डामच्चाएको छ। हालसम्म पहिरोमापरी ३ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै वर्षाका कारण सेती नदीमा पानीको वहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ।

मनसुन बाहिरिएको भएपनि मौसममा आएको परिवर्तनसँगै भएको अविरल वर्षाका कारण सेती, कालंगा नदी, र बाहुली खोलालगायतका साना ठूला खोलामा पानीको बहाव बड्दा बसपार्क समेत बगाएको छ। लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसिसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ।

त्यस्तै सिमखेत बजारका एउटा अटोपार्टस बगाएको छ, भने एक घर जोखिममा छ। बाहुली खोला किनारमा रहेका बंगुर र कुखुराका खोरहरू बगाएको छ। नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले बाढीको खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ।

सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको छ। सेती नदी र बाहुलीगाडमा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ। बाहुली खोलाको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन भएर सेती नदी र बाहुलीगाड तर्फ तटबन्धन गरिएको छ। 

तीन दिनदेखि घाम नलाग्दा बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ। सौर्य उर्जामा निर्भर बझाङका टेलिफोन टावरहरूमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो। लगातारको वर्षाले जिल्लामा के कति क्षति पुर्‍यायो भनेर तथ्यांक संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ।

नेपाल टेलिकम शाखाका निमित्त प्रमुख वमबहादुर सिंहले टेलिफोनका टावरहरूमा विधुत सेवा नपुगेको र सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुने गरेको बताए।
सौर्य उर्जाको भरमा संचालित बझाङका एफएम रेडियोको प्रसारण पनि अवरुद्ध भएको छ।

जिल्लामा रहेका नौ वटै एफएम रेडियोको रिले स्टेसनमा सौर्य उर्जा जडान गरिएको छ। रिले स्टेसनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकोले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध भएको छ।
आइतबार साँझदेखि जिल्लामा विधुत सेवा पनि अवरुद्ध छ।

विधुत सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प भएका छन्। प्रादेशिक विद्युत प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका ६ पहाडी जिल्लामा विद्युत अवरुद्ध भएको छ। 
अविरल वर्षाका कारण आइतबार रातिदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। केदारस्युँ गाउँपालिकाको नारुगौडामा बाढीले सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार