काठमाडौं। चिनले नेपाललाई थप २० लाख डोज खोप दिने भएको छ। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन सम्वादमा विदेशमन्त्री यीले यस्तो बताएका हुन्।
मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएको जनाइएको छ।
मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड-१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।