काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ। न्यादी हाइड्रोको आइपिओ बाँडफाँट आज गरिएको हो।
आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। कम्पनीले निष्कासन गरेको आइपिओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए।
आवेदन दिएकामध्ये जम्मा १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो।
निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए।
कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कुल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।