काठमाडौं। कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर पक्राउ परेका छन्। उनि सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख समेत रहेको जनाइएको छ। ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको समाचारमा जनाइएको छ।
ओटोनियल पानामाको सिमाना नजिकै उत्तर-पश्चिमी कोलम्बियाको ग्रामीण स्थानमा पक्राउ परेको हुन्। कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो।
कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै आफ्नो देशमा यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता भएको प्रतिक्रिया दिएका छन्। गिरफ्तारीको बारेमा विस्तृत विवरण आउन बाँकी रहे पनि घटनामा एक प्रहरी मारिएको राष्ट्रपतिले बताएका छन्।
कोलम्बियाको सशस्त्र सुरक्षा निकायले जारी गरेको एउटा तस्बिरमा हतकडी लगाएका ओटोनियललाई सैनिकहरूले सुरक्षा दिएको देखिन्छ। ५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भएपनि ती सफल भएका थिएनन्।
दश वर्षअघि उनको दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मारिएपछि ओटोनियल गल्फ क्लान नामक समूहको प्रमुख बनेका थिए। कोलम्बियाका सुरक्षा निकायले सो गिरोहलाई देशको सबैभन्दा शक्तिशाली आपराधिक सङ्गठन बताएको थियो।
कोलम्बियाको धेरै प्रान्तहरूमा सङ्गठन र व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध रहेको सो गिरोह लागू औषध र मानिसहरूको तस्करी, अवैध सुन उत्खनन र पैसा असुलीमा संलग्न छ। सो समुहको गल्फ क्लानमा लगभग १,८०० सशस्त्र सदस्यहरू रहेको बीबीसीले उल्लेख गरेको छ।
सो गिरोहले कोलम्बियाबाट अमेरिका र रुससम्म लागुऔषध तस्करीको लागि प्रयोग गरिने मार्गहरू नियन्त्रण गर्ने बताइन्छ। ओटोनियललाई अमेरिका कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोप लगाइने बताइएको छ।