काठमाडौं। विरगंजमा हत्या आशंकामा गाड्न लागिएको शब प्रहरीले बरामद गरी अनुसनधान अघी बढाएको छ।
असोज २१ गते वीरगञ्ज–१३ मा १९ वर्षीया युवतीको शंकास्पद मृत्युपछि शव गाड्न लागेको सूचना प्रहरीलाई आएपछि गाड्न लागिएको शब नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
जबर्जस्ती करणीपछि अत्याधिक रक्तश्राव भई मृत्यु भएको प्रारम्भिक सूचना प्रहरीसमक्ष आएको थियो। तर अनुसन्धानको क्रममा शब परिषण गर्दा झुण्डिएर मृत्यु भएको रिपोर्ट आए पनि पोस्टमार्टम नगराई शव गाड्न लागिएकोले घटनालाई प्रहरीले शंकास्पद नै मानेको छ।
झुण्ड्याएर मारेको हुन सक्ने आशंका गर्ने ठाउँ पनि छ। घटना लुकाउने र सबुत प्रमाण दबाउने, नष्ट गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। वीरगञ्ज-१३ का वडा अध्यक्ष तुफान अन्सारी, अध्यक्ष मियाको जेठो छोरा नासिर मिया र केटीको बुवा समसुद्दिन अन्सारीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । केटीको बुवा समसुद्दिन मात्रै प्रहरी हिरासतमा छन्।
शव कब्रिस्तान लैजानुभन्दा अगाडि नासिरको घरमा राखिएको, मृतक युवतीका बुवालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर नगरेको र शव नियन्त्रणमा लिने बेला वडाध्यक्ष अन्सारीले अवरोध पुर्याएको आरोप प्रहरीले लगाएको छ।
मुलुकी अपराध संहितामा कसूरको प्रमाण दवाउने कार्यलाई फौजदारी कसुर मानेको छ। कसैले कुनै कसुरदारलाई बचाउने नियतले कसुर सम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्न नपाउने उल्लेख छ। त्यसो गरे वा गराएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ।
यस्तो थियो घटना
प्रहरीलाई बलात्कार पछि रक्तश्राव भई युवतीको मृत्यु भएको र शव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको जेठो छोरा नासिर मियाको घरमा रहेको भनिएको थियो। दुई जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
प्रहरी सुचनाको आधारमा घरमा पुग्दा शब गाड्न लगिसकिएको थियो। त्यसपछि प्रहरीले आसपासमा रहेका मुस्लिम समुदायको अन्तिम संस्कार गर्ने स्थल ‘कब्रिस्तान’हरूमा खोजी गर्दा वीरगञ्ज–१३ मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा युवतीको शव दफन (गाड्ने) गर्ने तयारी भइरहेको थियो।
उनीहरूले शव नियन्त्रणमा लिन नदिने प्रयास गरेपनि प्रहरीले शव नियन्त्रणमा लिएर पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाई शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान शुरु गरेको थियो।
मृतक भारत बिहार पश्चिम चम्पारणस्थित इनर्वा खनिया निवासी जयुनत खातुन हुन्। उनी जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर बस्दै आएकी थिइन्। मृतक गाउँपालिका अध्यक्ष मियाको कान्छो छोराकी साली हुन्।
सूचनामा जर्बजस्ती करणीपछि ब्लिडिङ भएर मृत्यु भएको भनिएपनि शरीरमा चोटपटक नभएको र घाँटीमा निलडाम देखिएको थियो। प्रहरीलाई खबर नगरी हतार हतार शव गाड्न लागिएकोले अध्यक्ष मियाको परिवारका सदस्य नै शंकाको घेरामा परेका हुन्।
अनुसन्धानका लागि नियन्त्रणमा लिएका ९ जनामध्ये ८ जनालाई घटनामा संलग्नता नदेखिएको भन्दै पटकपटक गरेर छोडिएको छ। असोज २३ गते शव पोस्टमार्टम गर्न काठमाडौंको शिक्षण अस्पताल पठाइएको थियो।
काठमाडौंमा गरिएको परिक्षण्मा युवतीको मृत्युको कारण ‘हृयाङगिंङ’ उल्लेख गरिएको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
पोष्टमार्टम रिपोर्टमा शारीरिक सम्बन्ध भएको नदेखिएको र झुण्डिएरै मृत्यु भएको भनिएको भनिएपछि प्रमाण लुकाउन खोजेको भन्दै वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।